मित्र(ता)को परीक्षा

१२ कक्षा सकिएको केहि समय भईसकेको थियो । मेरो दिनचरिया भनेको एउटा बन्दै गरेको वेबसाइटका लागि कन्टेन्ट लेख्ने, फुपुको छोरा (भाई) लाई पढाउने, देश बाहिर पढ्न जानकालागि तयारी गर्ने, र ११-१२ पढ्दा सुरु गरेको ‘एक्टिभिजम’ कायम राख्न विभिन्न कार्यक्रमहरु संचालन गर्ने वा यिनमा सामेल हुने थियो ।  त्यसताका आफुले पढेको कलेज मेरालागि दोश्रो घर जस्तै थियो । पछिल्ला २ वर्षमा मैले त्यहाँका धेरैजना गुरु र अन्य स्टाफहरुसँग निक्कै राम्रो सम्बन्ध बनाएको थिएँ । त्यसैले फुर्सदको समय त्यहाँ पुगेर म सबैसँग गफगाफ गर्न छुटाँउदिन थिएँ । यस्तै गफगाफ गर्न पुगेकाबेला त्यहाँका प्रिन्सिपल सरले मलाई समय भए त्यहि कलेजमा इन्टर्नसिप गर्न अफर गर्नु भयो । प्यारो कलेज, त्यसमाथि आफुसँगैका अरु दुई मित्रहरु पनि त्यहिँ काम गरी रहेकाले मैले बिना अन्य प्रश्न सरको अफरलाई “यस” भने । 

“यस” भनेको केहि दिन पछि म नियमितरुपमा कलेजमा काम गर्न थालेँ ।  भर्नाको समय चलिरहेको थियो । मेरो काम मुलतः कलेज र पढाई बारे बुझ्न आएका नयाँ  विद्यार्थीलाई जानकारी दिने र भर्नाका लागि जाँच दिने विधार्थीको कपी चेक गर्ने नै थियो । कहिले काहिँ भने कोहि क्लास लिने शिक्षक बिदामा बसेको दिन मैले गएर क्लासमा विधार्थीहरुसँग छलफल गर्ने गर्नुपर्थ्यो । 

भर्खरै १२ सकेको मलाई उत्साह एकतिर त थियो नै तर त्यो भन्दा बढी डर थियो कि ती विधार्थीले म भर्खरै १२ सकेको फुच्चे हो भन्ने चालपाए कसरी टेर्लान् ?!

यसरी काम गरिरहेको बेला एउटा अर्को कलेजको स्नातक तहको परीक्षाका लागि हाम्रो कलेज सेन्टर हुने खबर आयो ।  करिब हप्ता-दश दिन चल्ने त्यो परीक्षा लागि एग्जाम-हलमा बस्ने गार्डहरुको आवश्यकता पर्ने भयो । यसका लागि को-को बस्ने भने छलफलमा मलाई पनि गार्डका रुपमा राख्ने निर्णय गरियो। भर्खरै १२ सकेको मलाई स्नातक तहको जाँचमा गार्ड राख्ने भन्दा उत्साह एकतिर त थियो नै तर त्यो भन्दा बढी डर थियो कि ती विधार्थीले म भर्खरै १२ सकेको फुच्चे हो भन्ने चालपाए कसरी टेर्लान् ?! समस्या त्यति मात्र रहेन जब मलाई याद भयो कि जाँच दिन आउने विधार्थी मध्ये एकजना सोहि कलेजमा मसँग पढेको साथी सञ्जिब थियो जोसँग मेरो कलेज पढ्दा निकै राम्रो चिनजान थियो । सञ्जिब सँगै अर्को विधार्थी भने हामी भन्दा सोहि कलेजमा पढेका एकजना सिनियर दाई थिए । उसै त कलिलो अनुहार भएको म, त्यसमाथि उनीहरुले मेरो बारे अरुलाई सुनाइदिए भने झन् कसैले टेर्दैनन् भन्ने पिरलो औधि भयो । यसका लागि उनीहरुको भएको क्लासमा मलाई नराखिदिन मैले एग्जाम-इन्चार्ज रहेका गुरुलाई आग्रह गरेँ र उनीहरुको छेवै नपर्ने निर्णय गरेँ । 



परीक्षा सुरु भयो ।  अलिक बुडो देखिन्छु कि भन्ने आशले केहि दिन यता मैले दारी काटेको थिइन र टिसर्टको सट्टा सर्ट लगाएर म गार्ड बस्न गएको थिएँ । पहिलो दिन सबैलाई प्रश्न पत्र र उत्तरपुस्तिका बाँडेपछि डराई-डराई चिट चोर्नेको कपि खोसीदिने कुरा सुनाएको स्मृति अझै पनि प्रष्ट छ । गार्डहरुलाई कडाईका साथ परीक्षा संचालन गर्न भनिएको थियो । सोहि निर्देशन अनुरुप १-२ पटक चोरेर वा चोर्न कोशिस गरेकाहरुको कपि मैले खोसिदिएको पनि थिएँ । त्यत्तिको कडाई भएको परीक्षा मैले आफुले पनि कमै मात्र देखेको-भोगेको थिएँ होला सायद । कपि खोस्दा होस् वा परीक्षा हलमा ल्याउन निषेधित मोबाईल-फोन जफत गर्दा, मलाई डर एउटै कुराको थियो – अरु कसैले म उनीहरु जस्तै ‘फुच्चे’ भन्ने थाहा पाए भने कि बाटो तिर कुट्लान् कि परीक्षा हलमा अर्को दिन देखि नटेर्लान् । 

मलाई डर एउटै कुराको थियो – अरु कसैले म उनीहरु जस्तै ‘फुच्चे’ भन्ने थाहा पाए भने कि बाटो तिर कुट्लान् कि परीक्षा हलमा अर्को दिन देखि नटेर्लान् । 

त्यसबेला अर्को क्लासमा एउटा घटना घट्यो । एउटा विधार्थीको मोबाईल-फोन कक्षामा गार्ड बसेको गुरुले जफत गरिदिएका रहेछन् । त्यसबेला स्मार्ट फोन हुनु ठुलो कुरो थियो । भर्खरै बजारमा आउन सुरु गरेको भएपनि धेरै मानिसहरु पुरानै ‘बटनवाला’ फोन चलाउने गर्थे । सरले भेटेको सो फोन पनि बटनवाला नै थियो । संयोगबस त्यो फोनमा कुनै किसिमको सेक्युरिटी-कोड हालेको रहेनछ । यस्सो एउटा बटन थिचेर हेर्दा फोन अनलक हुने देखियो । फोन जफत गरेको केहि समयपछि हामी केहि गार्डहरु स्टाफरुममा भेला भएका थियौँ । के सुरमा हो जफत गर्ने गुरुले फोन चलाउन थाले । गुरुले फोनमा भएको मेसेजहरु हेर्दा त्यस केटाको २ जना गर्लफ्रेन्ड भएको थाहा पाइयो । केटाका दुवै प्रेमिका पनि त्यहि कलेजका थिए र त्यहीँ जाँच दिदै थिए । हामी सबै यो कुरा थाहा पाएर गलल हाँस्यौँ । अहिले सम्झदा त्यसदिन सायद मैले नै अरुको फोनको म्यासेज हेर्नु गलत हो भनेर भन्नु पर्ने थियो कि जस्तो पनि लाग्छ ।

परीक्षाको अन्तिम दिन थियो । केहि कारणवश म मेरो साथी भएको परीक्षा हलको गार्ड परेँ । सञ्जिब मात्र हैन आफूभन्दा सिनिअर दाई पनि त्यहि क्लासमा थिए । भित्र छिर्नासाथ म डरले रातो पिरो भएँ । शायद नर्भस भएकै कारणले होला, मलाई त्यसबेलाको थोरै मात्र कुराहरु याद छन् । सबै कुरा सुमधुर चलिरहेको थियो ।  परीक्षा सकेर विधार्थीहरु हलबाट निस्कन थालिसकेका थिए । यसै बीच सञ्जिबले छेउमा रहेको उसको साथीलाई केहि सोध्न थाल्यो । मैले त्यसो नगर्ने आग्रह गरेँ । उसले केहीबेर त मान्यो तर फेरी बोल्न-हेर्न गर्यो। सायद जाँच सकिन थोरै मात्र समय बाँकि थियो, त्यसैले मैले अब कपि खोसे पनि साथीले पास गर्ने जति लेखिसक्यो होला भन्ने सोचेँ र उसको कपि लिईदिएँ । मित्र त्यसपछि केहि नभनी कोठा बाहिर गयो । त्यसयता सञ्जिबसँग लामो समय मेरो भेटघाट भएन ।



त्यसदिन सो कुरा सुनेर हामी साथीभाई बीच एक राउण्ड हाँसो गुञ्जियो । आखिर त्यो घटना सम्झन योग्य नै थियो । 

कलेज पढ्दा मेरो मित्रता कलेजका धेरैसँग थियो। आफ्नो-आफ्नो समूह बनाएर बस्ने मित्रहरुबीच म कहिले कुन त कहिले कुन ग्याँङसँग बस्थेँ। सोहि मध्येको एउटा मिल्ने ग्याँङको मित्र सन्जिब पनि थियो। ‘परीक्षा काण्ड’ पश्चात सञ्जिबलाई मैले फेसबुकमा मात्र देखेको थिएँ । करिब २ वर्ष पछि सञ्जिब सामेल हाम्रो ग्याँङ भेट्ने कुरा भयो र हामी नयाँ बनेश्वोरको एक रोडसाइड स्टिक-फुड स्टलमा भेट्यौँ । धेरै पछि भेटेकाले होला, मलाई ‘परीक्षा काण्ड’को वास्ता थिएन । कुरैकुराबीच सबैसामु त्यो दिनको कुरा पनि निस्कियो । भएको के रहेछ भने सञ्जिबहरुको त्यसदिन गणित विषयको जाँच रहेछ । गणित सञ्जिब र मेरा लागि उस्तै-उस्तै थियो – आतंक ! प्रश्नपत्र हेर्दा सञ्जिबलाई उत्तर आउने भन्दा नआउने प्रश्नहरु धेरै रहेछन् । पास गर्न हम्मे-हम्मे हुने स्थितिको सामना गर्ने अवस्था आएछ । यहि आतंकको बीच सञ्जिबको सोच एक असल साथी पनि हुने र छेउछाउका मित्रहरुको उत्तर अलि-अलि हेर्दै पास पनि गर्ने रहेछ। यसका लागि उसले जाँचको पहिलो २ घण्टा आफ्नो मित्रलाई अफ्ट्यारो नपर्ने गरि आफुले जानेको केहि प्रश्नको उत्तर लेखेर र चुप्प लाग्दै समय बिताएको रहेछ । बिस्तारै जाँच सकेर जाने विधार्थीहरु बढ्दै गएर क्लास खाली-खाली हुन थालेपछि मात्र उसले आफ्नो नजर अरु मित्रहरुको उत्तरपुस्तिकामा डुलाउन थालेको रहेछ । तर कर्मनिष्ठ साथीले त्यसो गर्न थालेको केहि प्रयासमै सञ्जिबको उत्तरपुस्तिका खोदिएको रहेछ । त्यसदिन सो कुरा सुनेर हामी साथीभाई बीच एक राउण्ड हाँसो गुञ्जियो । आखिर त्यो घटना सम्झन योग्य नै थियो । 

त्यस दिनको सञ्जिबसँगको भेटघाट पछि हामी बेला-बेला भेटिनै रहन्थ्यौं । तर त्यस घटनाबारे सबैभन्दा अचम्मको कुरा त मैले कयौँ भेट पछि मात्र सुन्न पाएँ । स्नातक सकेको केहि समय पछि सन्जिबले मलाई एकदिन भन्यो, “मैले ब्याचलर्समा फेल भएर दोहोर्याएर दिनुपरेको एक मात्र सबजेक्ट त्यहि (गणित) नै हो।” त्यति बेला पो मन चसक्क भयो । लाग्यो साथीका लागि जाबो नदेखे जस्तो गरेर उसलाई अलि-अलि हेर्न दिएको भएपनि उसले पास त गर्ने थियो होला नि ! आहिले पनि प्रिय मित्र सन्जिबसँग बेला बखत भेट हुने गर्छ र सोहि कथाले संबादका क्रममा प्रवेश पाईरहन्छ ।